कार्यालय सम्पर्क नम्बर: ०१–५४५३००१ , ५४५३००७

आइतबार – शुक्रबार

१०:०० देखि ५:००

लगनखेल-५, ललितपुर

७ बुँदे साझा प्रतिबद्धता जारी गर्दै साकोस सिईओ गोष्ठी २०८१ ललितपुर सम्पन्न

७ बुँदे साझा प्रतिबद्धता जारी गर्दै साकोस सिईओ गोष्ठी २०८१ ललितपुर सम्पन्न

६८औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा ललितपुर जिल्ला बचत संघको आयोजनामा भक्तपुरको नगरकोटमा रहेको रत्नागिरी रिर्सोटमा चैत्र २२ र २३ गते साकोस सिईओ गोष्ठी २०८१ ललितपुर सम्पन्न भयो । दुई दिनसम्म सञ्चालन भएको उक्त गोष्ठीमा ललितपुर जिल्लामा सञ्चालित ९० जनाभन्दा सहकारी संस्थाका प्रमुख कार्यकारी अधिृकत/व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।
उद्घाटन सत्रमा वचत संघका अध्यक्ष रामहरि बजगाईको सभापतित्व एवम् वागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सुरुवात भएको थियो । उद्घाटन सत्रमा वागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटा, ललितपुर महानगरपालिका उद्योग तथा सहकारी शाखा प्रमुख खगेन्द्रप्रसाद वस्ती, वरिष्ठ अधिकृत चन्द्रलाल डंगोल, अधिकृत चिरन्जीवी पौडेल, जिल्ला सहकारी संघ ललितपुरका सचिव अनिलवीर बज्राचार्यको उपस्थिति रहेको थियो । उक्त गोष्ठीको सञ्चालन वचत संघका सचिव श्यामकृष्ण महर्जनले गर्नुभएको थियो भने संघका वरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्यले स्वागत मन्तव्य राख्दै सहकारी क्षेत्रमा अलमल रहेको भन्दै उनले त्यसलाई चिर्न अभियान आफैं लाग्नुपर्ने र सहकारीको धमिलिएको वातावरणलाई संङ्ल्याउन सहकारीकर्मीले नै पहल गर्नुपर्ने बताएका थिए भने सहकारी आफ्नो संस्था भएकाले बचतको सीमा तोक्न नहुने धारणा व्यक्त गरेका थिए । गोष्ठीमा नजानेका कुरा सिक्ने र जानेका कुरा एकअर्कामा साटसाट गर्ने थलोको रुपमा लिई सो गोष्ठी सहयोगी हुने अपेक्षा गरे ।
सो अवसरमा गोष्ठीको प्रमुख अतिथिको रुपमा बोल्दै श्रेष्ठले सहकारीमा स्रोत खुलेको रकम राख्न बन्देज गर्नु नहुने उल्लेख गरे । सहकारीमा स्रोत नखुलेको रकम पनि रहेको भन्ने आरोप पनि सही जस्तो लागेको भन्दै उनले स्रोत खुलेको जतिसुकै रकम सहकारीमा बचत गर्न पाउनुपर्नेमा जोड दिए । कतिपय सहकारी संस्थामा सदस्यले स्रोत नखुलेको रकम समेत जम्मा गरेको भन्दै उनले त्यसलाई रोक्न आवश्यक भएको जनाए । मन्त्रालयले समस्याग्रस्त घोषणा गरेका केही सहकारीका बचतकर्तालाई रकम मागदावी गर्न आव्हान गरेको र स्रोत खुल्ने र पाँच/दश लाख रकम भएकाले मात्र माग दावी गरेको बताए । तर १८ करोडसम्म सहकारीमा बचत भएको पाइए पनि मागदावी गर्न भने नआएकोले सहकारीमा स्रोत नखुलेको रकम पनि रहेछ भन्ने शंका गर्ने ठाँउ रहेको उनले तर्क गरे । 
वागमती प्रदेश मातहत रहेका ३२ सय सहकारी संस्थामध्ये तीनसय सहकारी संस्थामा समस्यामा रहेको उनको भनाई छ । तीनसय सहकारी संस्थामा सदस्यको ११ अर्ब रकम डुबेको उजुरी मन्त्रालयमा परेको उनले जानकारी दिए । सहकारीमा गलत गर्नेलाई मन्त्रालयले नछाड्ने भन्दै केही संस्थाले गरेको गलत कार्यले सिंगो अभियानमा नै दाग लागेको उनले बताए । सहकारीका समस्या समाधान गर्दै यो क्षेत्रलाई व्यवस्थित गर्न आपूm लागिपरेको उनले जनाए । गलत गर्ने संस्थालाई मन्त्रालयले समस्याग्रस्त घोषणा गरी कानुनी प्रक्रिया अगाडि बढाइसकेको उनको भनाई छ । सहकारीबाट ऋण लिने र समयमा ऋण नतिर्ने ऋणीको लागि स्थानीय सरकार कठोर हुन उनको आग्रह छ ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै ललितपुर जिल्ला सहकारी संघका सचिव अनिलवीर बज्राचार्यले दुईदिने गोष्ठीले सहकारीका व्यवस्थापनमा निखार ल्याउने जनाए । उनले सहकारी क्षेत्रमा अहिले अन्यौल रहेको भन्दै यो विषयमा छलफल गरेर अगाडि बढ्नुपर्नेमा उनको जोड छ । 
कार्यक्रममा वागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले सहकारी क्षेत्रमा अहिले अन्यौलमा रहेको भन्दै सहकारी प्राधिकरण राष्ट्र बैकको उपसमिति जस्तै रहेको भनाई छ । सहकारीलाई व्यवस्थित गर्ने नाममा विभिन्न निकाय गठन भएको भन्दै यसले सहकारी क्षेत्रको समस्या समाधान गर्न नसकेको उनको आरोप छ । उनले सहकारी प्राधिकरण स्वायत्तता र स्वतन्त्रता भनिए पनि राष्ट्र बैंकले जारी गरेका निर्देशन लागु गर्ने निकाय जस्तो भएको जनाए । उनले राष्ट्र बैंकले सहकारी ऐन विपरित गएर बचत तथा ऋण सहकारी संस्थालाई मापदण्ड र निर्देशन ल्याउनु गलत भएको उल्लेख गरे । राष्ट्र बैंकले सहकारीको नियमन गरे यसको स्वतन्त्रता र स्वायत्तता हराउने उनको भनाई छ । राष्ट्र बैंकले जारी गरेको मापदण्डले प्रारम्भिक सहकारी संस्था सञ्चालन गर्न समस्या हुने उनको दाबी छ । प्राधिकरणले राष्ट्र बैंकले जे–जे भने पनि मान्नु गलत भएको सापकोटाको भनाई छ । सहकारी अभियानले दोस्रो तहको नियामक निकाय गठनको माग गरेको र त्यसैमा राज्यले खेल्ने मौका पाएको उनले सुनाए । बागमती प्रदेशमा १० हजार सहकारी संस्था रहेको जानकारी दिँदै अध्यक्ष सापकोटाले कुल सहकारीको १.५ प्रतिशत संस्थामा मात्र समस्या रहेको जनाए । केन्द्रीय संघहरुले तल्लो तहका सहकारी संस्थालाई समेट्न नसक्ने हुँदा जिल्ला र प्रदेश सहकारी संघहरुले स्थानीय तहमा रहेका संस्थाहरुलाई समेटेर सबल बनाउने काम गरेको उल्लेख गरे । जिल्ला र प्रदेश संघहरुको कारण सहकारीमा समस्या नआएको भन्दै संघहरुले संस्थाहरुलाई सबल बनाउन लागि परेको उल्लेख गरे ।
संघका अध्यक्ष रामहरि बजगाईंले ललितपुरमा रहेका ४८२ संस्था संघमा आवद्ध रहेको र ती संस्थालाई व्यवस्थित गर्न संघ लागिपरेको बताए । कतिपय संस्थामा बचत अपचलन भएको भए पनि धेरैजसो सहकारी संस्थामा भने गरेको ऋण समयमा नउठ्दा समस्या आएको उनको भनाई छ । सहकारीमा ऋण नउठ्ने तर सदस्यले मागेको समयमा बचत फिर्ता पाएनन् भने प्रहरी कहाँ उजुरी हाल्ने समस्या रहेको उनको गुनासो छ । सहकारीले लाभांश दिएन भने शेयर फिर्ता माग्ने सदस्यहरु बढेकाले त्यसतर्फ मन्त्रालयको ध्यान जान आवश्यक रहेको उनको भनाई छ । हिजोको दिनमा डिभिजन कार्यालय हुँदा सहकारीको नियमन भएको र संस्थाहरु पनि डराउने अवस्था रहेकाले अहिले डिभिजन कार्यालयले नभएको अवस्थामा उपत्यकामा कार्यालय खडा गरी संस्थाहरुको नियमन तथा अनुगमन गर्न उनले माग गरे । सहकारीमा एकीकरण आवश्यक रहेको र त्यसमा मन्त्रालयले सहजिकरण गर्नुपर्ने उनको राय छ । सहकारीमा एकीकरण आवश्यक रहेको र त्यसका लागि मन्त्रालयले कर छुट लगायतका केही सुविधा ल्याउन उनको आग्रह छ । अबको आवश्यकता वित्तीय रुपमा सबल र बलियो सहकारी भएको भन्दै उनले ऐनले पनि एक संस्था एक सदस्यको आवधारणा ल्याएको बताए । राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाको लागि मापदण्ड तथा निर्देशन ल्याएको र यसले पनि संस्थाहरुलाई एकीकरणमा जना बाध्य बनाएको उनको भनाई छ । सहकारी क्षेत्रले कुन र कसले ल्याएको कानुन पालना गर्ने भन्ने अन्यौलता रहेको बताए । सहकारीमा अनेकथरी नियम कानुन आएकाले संस्था कसरी सञ्चालन गर्ने भन्नेमा समस्या आएको बजगाईंले जनाए । उनले बागमती प्रदेशमा रहेका सहकारी संस्थाको समस्या समाधानमा ध्यान दिन मन्त्रीलाई आग्रह गरे । यो क्षेत्रको समस्या समाधान भए मन्त्रीको उचाई बढेर जाने उनले जनाए । तल्लो तहका जनतालाई समेटेर काम गर्ने सहकारी क्षेत्रलाई राम्रो बनाउन सके मन्त्रीलाई अभियानले सधै सम्झिरहने उनको भनाई छ । दुई दिनको सिकाई उपलब्धिमूलक हुने भएकाले यो समयलाई भरपुर उपयोग गर्न सहभागीलाई उनको आग्रह छ । गोष्ठीले व्यवस्थापन प्रमुखहरुमा निखार ल्याउने उनको दाबी छ । 
दुई दिनसम्म सञ्चालन भएको उक्त गोष्ठीमा पहिलो दिनको पहिलो सत्रमा नेपाल खुल्ला विश्वविद्यालयका भिजिटिङ्ग संकायका प्राध्यापक रशेश वैद्यले, ‘सहकारी क्षेत्रमा मानव संशाधन व्यवस्थापन सम्बन्धी मुद्दाहरु र आगागी कार्यदिशा’ सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै उनले बैंक तथा वित्तीय संस्था र सरकारी उच्च तहमा काम गर्ने कर्मचारी समेत विदेश जाने क्रम बढेर गएको बताए । उनले सहकारी क्षेत्र सुरक्षित र व्यवस्थित नभएकाले यस क्षेत्रमा काम गर्न युवापुस्ता आकर्षित नभएको उनको भनाई छ । बदलिएको बजारसँगै सहकारी संस्थाले आधुनिक प्रविधि र मानव संशाधन विकासमा ध्यान दिन नसक्दा कर्मचारी यस क्षेत्रमा आकर्षित हुन नसकेको जनाए । मुलुकमा पढेलेखेका र दक्ष जनशक्तिले समेत राम्रो सेवा सुविधा नपाउँदा विदेश जाने क्रम बढेको उनको भनाई छ । यो विषयमा अव पोलिसी लेवलमा नै छलफल गर्न आवश्यक रहेको उनले जनाए । सहकारी संस्थामा तरलता व्यवस्थापन मुख्य समस्या भएको भन्दै उनले कतिपय सहकारीले दैनिक रुपमा अर्बौ रुपैयाँ कारोबार गर्ने तर तरलता व्यवस्थापनमा ध्यान नदिएको उनले जनाए । अर्बौ कारोबार गर्ने संस्थाहरु पनि अहिले बन्द भएका छन्, उनले भने ‘घर जग्गा र उद्योगधन्दामा गरेको लगानी र युवा पुस्ता विदेशिने क्रम रहेकाले संस्थाहरु बन्द हुन पुगेको उनले जनाए । कर्मचारीहरु प्रविधिमैत्री हुन नसकेको भन्दै उनले कतिपय संस्थाले सफ्टवेयर ल्याए पनि सञ्चालन गर्ने कर्मचारी नभएको भन्दै कार्यपत्र प्रस्तुत गरेका थिए । 
उक्त दिनको दोश्रो सत्रमा उत्प्रेरक वक्ता डा. ताराप्रसाद गिरी (डा. ताराजी) ले, ‘नेतृत्व विकास र समय व्यवस्थापन’ सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै सहभागिहरुलाई उत्प्रेरणा गराएका थिए भने तेश्रो सत्रमा नेपाल राष्ट्र बैंकका निर्देशक डा. राम शरण खरेलले ‘सहकारीमा पूँजी पर्याप्तताको आवश्यकता र औचित्यता’ सम्बन्धि कार्यपत्र प्रस्तुत गर्दै उनले केन्द्रीय बैंकले प्रतिस्थापन विधेयक पारित हुनु अगावै मापदण्ड तयार गरेकाले संस्थाका लागि यो निर्देशन अनिवार्य नभएको जनाए । प्राधिकरण आफैमा स्वायत्तता र शक्तिशाली भएकाले सहकारी संस्थाका लागि मापदण्ड र निर्देशन ल्याउने उनले जनाए । राष्ट्रिय सहकारी प्राधिकरण गठन भई सकेको हुनाले प्राधिकरणले जारी गर्ने मापदण्ड नै अन्तिम हुने उनको भनाई छ । राष्ट्र बैंकले जारी गरेको निर्देशन सहकारीको लागि स्वेच्छिक मात्र भएको उनको भनाई छ । प्राधिकरण गठन भइसकेको  अवस्थामा उसले नै निर्देशन तथा मापदण्ड जारी गर्ने भएकाले केन्द्रीय बैंकले यसलाई अन्तिर रुप दिन आवश्यक नठानेको उनको भनाई छ । अब प्राधिकरणबाट जारी हुने निर्देशन तथा मापदण्ड संस्थाहरुको लागि बाध्यकारी हुने उनले जानकारी दिए । सहकारिताको मर्म अनुसार सञ्चालित, न्युनतम मापदण्ड पालना गरेका र सञ्चालक तथा व्यवस्थापकबीच व्यवसायिक ज्ञान र क्षमता हुने सकेका संस्था राम्रो हुने उनको भनाई छ । पूँजी कोषको आधारमा संस्था सञ्चालन गर्ने कुरा कानुनमा नै आएको र पुँजीको आधारमा संस्था सञ्चालन गर्दा राम्रो हुन्छ भन्ने सोचले यो व्यवस्था आएको खरेलले बताए । संस्था सञ्चालनको लागि तरलता अनुपात र पुँजी प्रयाप्त नै मुख्य भएको उनको भनाई छ । यी दुई कुरालाई ध्यान दिन सके संस्था सबल हुने उनले जनाए । सहकारी संस्था क्यापिटल बेसमा सञ्चालन हुने संस्था नभए पनि उनले अहिले केही संस्थाले बैंकको सरह कारोबार गर्ने गरेकाले पुँजी कोष आवश्यक परेको बताए । बचत तथा ऋण सहकारी संस्थाको लागि ८ प्रतिशत पुँजी कोषको व्यवस्था गरेको उनले जानकारी दिए । लघुवित र अन्य देशमा पनि ८ प्रतिशत रहेकाले नेपालमा पनि सोही अनुसार पुँजी प्रयाप्त कायम गरेको उनको भनाई छ । सहकारी संस्थाको लागि ४ नभई ८ प्रकारको ऋणको वर्गिकरण गर्दा राम्रो हुने उनले सुझाए । संस्थामा पुँजी प्रयाप्त हुन ऋणको वर्गिकरण र जोखिम भार नै मुख्य भएको उनले जानकारी दिए ।
त्यस्तै, गोष्ठीको दोश्रो दिन पहिलो सत्रमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले ‘सहकारीको विद्यमान नियमकीय प्रावधान र राष्ट्रिय सहकारी नियमन प्राधिकरणको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै उनले पूँजी कोषको आधारमा सहकारीले बचत लिन सकेपनि कतिपय अवस्थामा कोष नकरात्मक हुँदा संस्थाहरु समस्या पर्न सक्ने बताएका छन् । उनले सहकारीको प्राथामिक पूँजी कोष घटबढ हुने भएकाले यसले संस्थाहरुलाई अप्ठ्यारो पार्न सक्ने संकेत गरे । निर्देशक पौडेलले हरेक आर्थिक बर्षको पहिलो महिनाको पूँजी कोषलाई आधार मानेर बर्षभरी बचत ऋणको कारोबार गर्दा राम्रो हुने सुझाए ।
प्राधिकरणका सञ्चालक समेत रहेका पौडेलले सहकारी सदस्य केन्द्रीत संस्था भए पनि कतिपय संस्था स्वः नियमनमा चुकेकाले नियमन आवश्यक रहेको बताए ।  ४५ सय अर्ब पूँजी परिचालन गरेको यो क्षेत्रमा प्रभावकारी नियमन आवश्यक रहको उनले जनाए । ६०/६५ लाख जनता आवद्ध रहेको र सदस्यहरुको अर्बौ बचत परिचालन गरेको यो क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक रहेको उनको भनाई छ । सहकारी पनि वित्तीय कारोबार गर्ने संस्था भएको र सदस्यबाट बचत लिने र ऋण लगानी गर्ने भएकाले प्रभावकारी नियमनको आवश्यकता रहेको पौडेलले बताए । सहकारीमा भएको वित्तीय अपचलनले गर्दा समग्र अर्थतन्त्रमा मन्दी आएको भन्दै उनले सहकारी क्षेत्रलाई ग्रे लिष्टसँग समेत जोडेर हेरिने गरेको जनाए । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आयोजना गरेको साकोस सिईओ गोष्ठीमा ‘ सहकारीको विद्यमान नियमकीय प्रावधान र राष्ट्रिय सहकारी नियमन प्राधिकरणको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले २0५८ सालममा ३४ सहकारी संस्थालाई सिमित बैकिङ्ग कारोबार गर्न अनुमति दिएको र सहकारीको नियमनको ज्ञान राष्ट्र बैंकसँग भएको बताए । ऐनसँग बाझिने गरी निर्देशन तथा मापदण्ड जारी गर्न नपाइने उनले प्रष्ट पारे । सहकारी पनि वित्तीय कारोबार गर्ने संस्था भएकाले अनुशसासनमा बस्नुपर्ने र त्यसमा चुके संस्था बिग्रने उनले प्रष्ट पारे । ब्याज तिर्ने र ब्याज निर्धारण गर्ने ब्यक्ति एकै हुँदा समस्या आउने भएकाले सञ्चालकले संस्थाबाट ऋण लिइदा स्वार्थ बाझिने उनको भनाई छ ।
त्यसै गरी उक्त दिनको दोश्रो सत्रमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का प्रमुख कार्यकारी अधिृकत डा. शिवजी सापकोटाले ‘संस्थागत सुशासनको अवधारणा, मापदण्ड र प्रयोग’ विषयक कार्यपत्र प्रस्तुत गर्दै उनले व्यवस्थापनले सदस्यको बचतको सुरक्षाको सुनिश्चितता गर्न सक्नुपर्नेमा जोड दिए । सहकारीका व्यवस्थापनले बचतको सुरक्षा र सञ्चालकले सदस्यको आर्थिक सामाजिक रुपान्तरणमा ध्यान दिनुपर्ने उनको भनाई छ । सहकारीमा सदस्य बनेका ६0 प्रतिशत सदस्यले मासिक नियमित बचत गरे समुदायका लागि संस्था आवश्यक भएको प्रमाणित हुने सिईओ सापकोटाले बताए ।  त्यसका साथै सदस्यका छोराछोरी बाल बचतकर्ता भएर बचत गर्नुका साथै ऋण लिने सदस्यको संख्या धेरै हुँदा संस्थाको आवश्यकता थप पुष्टी गर्ने उनको भनाई छ । सहकारीलाई सुशासनमा सञ्चालन गर्न  आन्तरिक कार्यविधि महत्वपूर्ण हुने र बोलेर भन्दा लेखेका कुराले सुशासनमा सञ्चालन गर्न सघाउने उनको दावी छ । सहकारीमा गुड गभर्नेस भइ नसकेको र सबै कुरा लिखित भए काम गर्न सजिलो हुने उनले जनाए । सहकारी बैंक भन्दा राम्रो भएको र नियमन प्रभावकारी बनाउन उनको आग्रह छ ।
सहकारीमा ऋण लिन सदस्य बनाउने गरेको र अहिलेको समस्या नै ऋण असुली रहको उनको भनाई छ । सदस्यलाई पटक पटक सम्झाएर  ऋण दिन उनको सुझाव छ । संस्थाबाट ऋण लिएर आर्य आर्जन वृद्धि भएको छ कि छैन,त्यसमा ध्यान दिन र ठुलो भन्दा सानो ऋण लगानीमा प्राथमिकता दिनु पर्नेमा उनको जोड छ । संस्थाका व्यवस्थापकहरुले ६६ प्रतिशत समय अफिसमा नभई फिल्डमा बिताउनु पर्नेमा सिईओ सापकोटाको जोड छ । संस्थाको संख्या, धेरै सहकारी ऐन, सुशासनको अभाव,निस्कृय लेखा समिति,दक्ष जनशक्तिको अभाव,भरपर्दो प्रविधिको अभाव, सदस्य केन्द्रियताको अभाव नै अहिलेको समस्या भएको उनको भनाई छ । अहिले सहकारीमा ऋण लगानी नभएर गरेको ऋण असुली नभएर समस्या भएको सापकोटाले जनाए । प्रमाणीकरण कार्यक्रममा आवद्ध संस्थाहरुको मात्र गुड गभर्नेन्स मापन गर्न सकिने उनले जनाए । संस्थाहरुलाई सुशासनको फ्रेमवर्क बनाउन उनको सुझाव छ ।
गोष्ठीको अन्तिम सत्रमा नबिल बैंक लिमिटेडका कामु प्रमुख कार्यकारी निर्देशक मनोजकुमार ज्ञवालीले ‘व्यवस्थापक र नेतृत्वकर्ताको रुपमा व्यक्तिव विकास’ सम्बन्धि कार्यपत्र प्रस्तुत गर्दै उनले आफ्नो प्रज्ञा, क्षमता, र चरित्रलाई निरन्तर सुधार्ने प्रक्रिया हो, जसले संस्थागत लक्ष्य प्राप्ति र टोलीलाई प्रभावकारी ढंगले निर्देशन गर्न मद्दत गर्छ भन्दै आफ्नो शक्ति र कमजोरी पहिचान गर्ने, फिडब्याक स्वीकार्ने र आत्मसुधारको मानसिकता विकास गर्ने, संचार, निर्णय प्रक्रिया, समस्याको समाधान, र भावनात्मक बुद्धिमत्ता (EQ) जस्ता प्रविधिहरू अभ्यास गर्ने, प्रबन्धन र नेतृत्वका नयाँ सिद्धान्त, प्रविधि र प्रवृत्तिहरूसँग अद्यावधिक रहने, पारदर्शिता, निष्पक्षता, र सामाजिक दायित्वको भावनालाई प्राथमिकता दिने, परिवर्तनलाई अवसरको रूपमा लिने र रचनात्मक सोच बिकास गर्ने र टोलीसँग विश्वास, सहकार्य र सम्मानको वातावरण विकास गर्ने कुराहरु राखेका थिए । व्यवस्थापकको रूपमा कार्यप्रणाली व्यवस्थित गर्ने, जबकि नेतृत्वकर्ताको रूपमा दृष्टि दिने र प्रेरित गर्ने क्षमता आवश्यक छ । यी दुबै भूमिकाहरू सफलतापूर्वक निभाउन व्यक्तिले आफ्नो व्यक्तित्व, ज्ञान र अनुभवलाई संतुलन गर्दै यसले संस्था र व्यक्तिगत उन्नतिलाई गतिशील बनाउनेमा दुईमत नरहेको बताएका थिए ।
सोही गोष्ठीमा सहकारीका असल अभ्यास आदान प्रदानका साथै कर्मचारीहरुमा तालिम तथा शिक्षा मार्फत उत्कृष्ट व्यवस्थापन गर्ने लक्ष्य सहित ललितपुर साकोस म्यानेजर्स क्लब गठन गरेको छ । ललितपुर जिल्ला बचत संघका प्रमुख कार्यकारी अधिकृत सन्तोष बजागाईंको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिमा खुत्रुकी साकोसका महेश्वर सिंखडा, इमेज साकोसकी लिना प्रधान, आयाम साकोसका गणेश नेपाल, गन्तव्य साकोसका उत्तम घिमिरे, मनीमण्डप साकोसकी जीना शाक्य, पद्मावती साकोसका बालकृष्ण महर्जन, कर्मठ सामुदायिक साकोसका कृष्णप्रसाद घिमिरे, इमाडोल साकोसका मनहरि श्रीमाली, मातृ साकोसकी शोभा सिगु र शैक्षिक विकास साकोसकी स्वीटि राजभण्डारी रहेकी छिन् । समापन सत्रमा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतता, विशेष अथिति वागमती प्रदेश सहकारी संघ लि. का अध्यक्ष रामशरण शर्मा घिमिरे लगायत महानुभावहरुको उपस्थितिमा समापन भएको थियो । 
 साथै उक्त गोष्ठीले ७ बुँदे साझा प्रतिबद्धता जारी गरी समापन भएको थियो ।
सात बुँदे साझा प्रतिबद्धता
        ललितपुर जिल्लाभित्रको बचत तथा ऋण सहकारी संस्थामा मानव संशाधन बिकास गर्न व्यवस्थापन प्रशिक्षार्थीको व्यवस्था गर्न प्रतिबद्ध छौं ।
    आफूले प्रतिनिधित्व गरेको सहकारी संस्थामा ऋणको साँवा ब्याज नतिर्ने सदस्यहरुको समस्या समाधान गर्ने पहलकदमीका लागि सबै संस्थाहरुले नीतिगत व्यवस्था गरी ऋण तिर्न नसक्ने ऋणी सदस्यसँग पुर्नवार्ता (रिनेगोसियसन) मार्फत ऋणको पुर्नसंरचना गर्ने, ऋणीसँग निरन्तर परामर्श गर्ने र ऋण असुलीमा आवश्यक सहजिकरण गर्नका लागि कार्यविधिमा आवश्यक परिमार्जन गर्नुका साथै जानाजानी ऋण नतिर्नेहरुको हकमा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन कर्जा सूचना केन्द्रको सदस्यता लिन प्रतिबद्ध छौं ।
    सहकारी संस्थाका सदस्यहरुको लागि सहकारीप्रति सकारात्मक वातावरण निर्माणका लागि  निरन्तर सहकारी शिक्षा तथा पुर्नजागरण कार्यक्रमलाई निरन्तरता दिई नियमित बचतलाई प्राथमिकतामा राखि आगामी ३ वर्षभित्र कुल वचत निक्षेपमा कम्तिमा २५ प्रतिशत नियमित बचतको अनुपात कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दछौ ।
    राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी हुने निर्देशन र दर्ता गर्ने मापदण्डका सन्दर्भमा जिल्लाभित्रका सरोकारवालाहरुसंग आवश्यक छलफल गरी पारित सुझावहरु सम्वन्धित निकायमा प्रदान गर्न भूमिका निर्वाह गर्नेछौ ।
    संचालक समिति र प्रमुख कार्यकारी अधिकृतले आफ्नो जमानीमा ऋण प्रदान नगर्न साथै संस्थाले कर्मचारीको दक्षता अभिवृद्धिका लागि प्रत्येक वर्ष गत आर्थिक वर्षको कुल तलबभत्ता खर्चको कम्तिमा दुई प्रतिशत रकम तालिम तथा वृद्धि विकासमा खर्च गर्ने गरी बार्षिक योजना र बजेट बनाउन प्रतिबद्ध छौं ।
    संस्थाले आफ्ना सदस्य सन्तुष्टि अभिवृद्धिका लागि गुणस्तरिय सेवा प्रवाह गर्न समग्र व्यवहार सुुधारका साथै व्यावसायिकता एवं संस्थागत दक्षता अभिवृद्धिका लागि प्रतिबद्धता व्यक्त गर्दछौ ।
    संघको सदस्य संस्थाहरुको अनुगमन गरी शिघ्र सुधारका लागि सामूहिक प्रयत्नमा साथ दिनेछौं, साथै जिल्ला स्थित बचत तथा ऋण सहकारी संस्थाहरुको प्रवद्र्धन, विकास तथा रचनात्मक कार्यका लागि सहयोग आदनप्रदान गर्न प्रतिबद्ध छौं ।