२९ औँ वार्षिक साधारण सभा सम्पन्न
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष रामहरि बजगाईंको सभापतित्व एवं प्रतिनिधि सभाका सम्माननीय सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको सभामा बिशिष्ट अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल रहनुभएको थियो ।
सभामुख देवराज घिमिरेले जनताको विश्वास अभिवृद्धि गरी सहकारी क्षेत्रमा आकर्षित गरी देशको अर्थतन्त्र निर्माण गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको शुक्रबार सम्पन्न २९औँ वार्षिक साधारणसभामा सभामुख घिमिरेले यस क्षेत्रलाई राज्यले प्राथमिकता र महत्व दिएको बताए । ‘राज्यले २०७२ सालमा संविधान जारी गर्दा सार्वजनिक, निजी र सहकारीलाई महत्व दिँदै त्रिस्तम्भीय आर्थिक नीति अवलम्बन गरेको छ, देशको अर्थतन्त्रमा सबै जनतालाई समान अवसर सिर्जना गर्ने माध्यम सहकारी क्षेत्र बनेको छ,’ उनले भने । राष्ट्रिय स्तरका बैंकले शाखा नखसेका दुर्गम क्षेत्रमा समेत सहकारी संस्था पुगेको बताउँदै सभामुखले सामुदायिक जनतालाई वित्तीय पहुँच सुनिश्चित गरी बलियो राष्ट्रिय अर्थतन्त्र बनाउन सहकारीको भूमिकाको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा विशिष्ठ अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले सहकारीमा अहिले देखिएको समस्याको निकासका लागि राष्टिय सहकारी महासंघले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले सदस्यको पैसा फिर्ता गर्न सकिएन भने हाम्रो नेतृत्व हामीमै मात्र सीमित हुने भन्दै उहाँले त्यसका लागि अभियानकर्मीहरु सचेत हुनुपर्ने बताउनुभयो । अभियानभित्रका साथीहरुले सिङ्गो अभियानको हितका लागि सोच्नुपर्नेमा नेफ्स्कूनका प्रबक्ता समेत रहनुभएका बरिष्ठ उपाध्यक्ष ढकालले जोड दिनुभयो ।
कार्यक्रममा केन्द्रिय बहुउद्देश्यीय सहकारी संघका सचिव माधव तिमल्सिनाले संस्थाहरुले सदस्यलाई सेवा र ब्याजदरमा विश्वास दिलाउनुका साथै सदस्य भेटघाट कार्यक्रम गरे हाल देखिएको तरलता समस्या हल गर्न सकिने धारणा राख्नुभयो ।
कार्यक्रममा ललितपुर जिल्ला सहकारी संघका उपाध्यक्ष रामशरण बस्नेतले बैंकहरुले सीमित समयका लागि १२ प्रतिशतसम्म ब्याज आव्हान गरिराखेको अवस्थामा सहकारीहरुले पनि त्यस्ता प्रडक्ट ल्याउन सके तरलता अभावलाई न्यून गर्न सकिने बताउनुभयो । नेफ्स्कून र सहकारी बैंकले सीमित अवधिका लागि भएपनि विशेष बचत योजना ल्याएर सदस्यहरुको पैसा अभियानभित्र आउने वाताबरण बनाउनु अहिलेको आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो ।
संघका सल्लाहकार रामशरण घिमिरेले सहकारीभित्र रहेको पैसा यहिँ रहने बातावरण नबन्दासम्म तरलता समस्या झन्जटिलो बन्ने बताउनुभयो । व्यापार घाटा चुलिएको, कृषि उपजमा परनिर्भरता बढेको र डिजेलपेट्रोलको आयात बढ्दा मुलुकको पैसा बाहिरिँदा समस्या आएको उहाँको भनाई थियो ।
सभामा सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बजगाईले स्थापनाकालदेखि नै संघमा आवद्ध सहकारी संस्थाहरुको विकास, प्रवर्धन र संवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै सहकारीमैत्री नीति निर्माणका सवालमा पनि पहलपैरवी गर्दै आएको जानकारी गराउनुभयो । आन्तरिक रुपमा संस्थागत विकास, सुशासन एवं क्षमता अभिवृद्धि गर्दे अझ गुणस्तरीय सेवा प्रदान गर्नु आजको आवश्यकता रहेको र बचत ऋण अभियानलाई व्यवस्थित एवं समयसापेक्ष बनाउन अनुकूल नीतिगत व्यवस्थाका लागि राज्यसँग पहल गर्नु आवश्यक रहेको उहाँको धारणा थियो । सहकारीमार्फत उत्पादन, वितरण र उपभोगलाई जोड दिइ आर्थिक रुपमा सबल मुलुक बनाउन सहकारीहरु लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । संघले आफ्ना सदस्यहरुको सबलीकरण र विस्तारका लागि वर्षभर विभिन्न तालिम तथा गोष्ठी सञ्चालन गर्दै आएको उहाँले दाबी गर्नुभयो ।
संघमा ४८१ संस्था आवद्ध रहेका छन् । संघको कुल शेयर ७ करोड ४८ लाख, बचत ९८ करोड ६३ लाख र ऋण लगानी १ अर्ब ३ करोड गरी सदस्यहरुलाई १३ प्रतिशत लाभांश दिने भएको छ ।
सभामा कोषाध्यक्ष वसन्त मालीले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक सानुकाजी महर्जनले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा महानगरपालिका र नगरपालिका भित्रका उत्कृष्ट सहकारी पुरस्कारबाट संस्थाहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुने संस्थामा गोदावरी नगरपालिकाबाट कर्मठ सामुदायिक साकोस, महालक्ष्मी नगरपालिकाबाट स्वावलम्बी साकोस र ललितपुर महानगरपालिकाबाट खुत्रुकी साकोस रहेका छन् । त्यसैगरी उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट सम्मानित हुने संस्थामा क्वय्ना गणेद्यः साकोस– नःटोल, परिचित साकोस– कुसुन्ती रहेका छन् । त्यसैगरी सम्मान गर्ने क्रममा नेपाल सहकारी पत्रकार समाजका निवर्तमान अध्यक्ष खिलनाथ दहाल, ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघ लि. का पूर्व सञ्चालक शम्भुबहादुर के.सी. र उत्कृष्ट कर्मचारीमा कर्जा अधिकृत रमिता अवालेलाई प्रमुख अतिथिले सम्मानपत्र वितरण गरेका थिए । संघका बरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्यले स्वागत मन्तब्य र सचिव श्यामकृष्ण महर्जनले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
सूचनाहरू 