लेखा सुपरिवेक्षण समिति क्षमता अभिवृद्धि तालिम
ललितपुर महानगरपालिका कार्यालयको आयोजना तथा ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघ लि. को संयोजनमा फाल्गुन महिनामा प्रत्येक हप्ताको २ दिने लेखा सुपरिवेक्षण क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । तालिम सहकारी संस्थाका लेखा समितिमा बसेर काम गर्ने सदस्यहरुलाई क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको थियो ।
तालिमको उद्घघाटनको अवसरमा ललितपुर महानगरपालिकाका उद्योग तथा सहकारी शाखाका प्रमुख देव गुरागाईले संस्थाको सुशासन कायम राख्न लेखा समितिको महत्वपूर्ण भूमिका हुने भनाई राख्नुभएको थियो । त्यस्तै गरी संघका वरिष्ठ उपाध्यक्ष एवं शिक्षा तालिम उप–समितिका संयोजक करुणारत्न बज्राचार्यले सहकारी संस्थाहरु खासगरी वित्तीय कारोबार गर्ने सहकारीहरुमा सुशासन कायम गर्न र संस्थाको समग्र संरचनालाई चुस्त बनाउने उद्देश्यले यो तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । तालिममा सहभागी सहकारी संस्थाका प्रतिनिधिहरुलाई तालिमबाट सिकेका कुराहरुलाई आफ्नो सहकारी संस्थामा लागू गर्नको लागि बज्राचार्यले आग्रह समेत गर्नुभयो ।
उक्त तालिममा लेखा समितिको काम, कर्तव्य र अधिकार, लेखा समितिको भूमिका, आन्तरिक लेखापरीक्षण गर्ने विधि र प्रक्रियाहरु, लेखा समितिको गठन र दायित्व, आन्तरिक लेखापरीक्षण प्रतिवेदनको ढाँचा र प्रस्तुतीकरण र व्यवस्थापनका विभिन्न विषयहरु समेटेर तालिम दिइएको थियो । तालिममा सहभागी प्रशिक्षार्थीहरुबाट विभिन्न विषयमा जिज्ञासाहरु राख्नुभएको थियो ।
तालिमलाई अनिल विर बज्राचार्य तथा तेजप्रसाद बजगाईंले सहजीकरण गर्नुभएको थियो । फाल्गुन महिनाभर संचालित तालिममा संघमा आबद्ध सहकारी संस्थाहरुबाट कुल १३६ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।
सूचनाहरू 