ललितपुर बचत संघको ३०औं वार्षिक साधारण सभा सम्पन्न
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको ३० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संघका अध्यक्ष रामहरि बजगाईको सभापतित्व एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको प्रमुख आथित्यमा सभा सम्पन्न भएको हो ।
सभाको उद्घाटन गर्दै मन्त्री अधिकारीले आफुले सिकेको र हासिल गरेको अनुभवलाई सहकारी क्षेत्रको समस्या समाधान लागि लगाउन आग्रह गरे । अरु कसैले सहकारीको समस्या समाधान गरिदिँदैन, आफैले समाधान गर्ने हो भन्दै उनले सबै पक्ष जिम्मेवार भए लागे सहकारीका समस्या समाधान गर्न सकिने बताए । अहिले समाजमा आफु ठिक भए अरुको जेसुकै होस् भन्ने प्रवृत्तिको विकास भएको भन्दै उनले त्यसले अभियानलाई हित नगर्ने हुँदा सामुहिक हित खोज्न आग्रह गर्दै एउटै व्यक्ति दोहोरो तेहोरो पदमा बस्ने कुराले सहकारी क्षेत्र बलियो नहुने बताएका छन् । त्यसैगरी, एउटै व्यक्ति धेरै ठाउँमा पद ओगटेर बस्ने प्रवृत्ति बढेर गएकाले यसतर्फ अभियान सचेत हुन आवश्यक रहेको कुरा व्यक्त गरेको थिए ।
सहकारी क्षेत्रलाई दिगो र व्यवस्थित बनाउन आवश्यक रहेको भन्दै मन्त्री अधिकारीले यसका लागि पनि सरकारले अभियानसँगै सुझाव लिएर अगाडि बढ्ने उल्लेख गरे । ‘सरकारमा मन्त्रीहरु आउने जाने भइराख्छ, तर यो क्षेत्रलाई व्यवस्थित गर्ने कुरामा तपाईंहरुको भूमिका बढी हुन्छ । उनले भने ‘सहकारीमा जसले पनि आफुलाई विज्ञ भनेर प्रशिक्षण दिने तर त्यसको कतै रेकर्र्ड छैन ,त्यसले कति उपलब्धी हासिल भयो भन्ने पनि यकिन छैन । त्यसतर्फ पनि अभियानको ध्यान जान जरुरी छ ।
सरकारले अर्थतन्त्रको तीन खम्बा मध्ये एउटा खम्बाको रुपमा सहकारीलाई लिएको भए पनि अर्थतन्त्रमा सहकारीको प्रभाव न्यून रहेको उनले बताए । अर्थतन्त्रमा ३३ प्रतिशतको योगदानको कुरा गरे पनि सहकारीमार्फत त्यो हुन नसकेको उनले प्रष्ट पारे । सहकारी विभाग, सहकारी प्रशिक्षण केन्द्र र सहकारी अभियानबीच तालमेलको अभाव रहेको भन्दै मन्त्री अधिकारीले त्यसलाई संयोजन गरेर जान आवश्यक रहेको बताए । सहकारीमा जनशक्ति भएपनि त्यसको व्यवस्थापनमा कमजोरी रहेको भन्दै उनले जानेबुझेकाहरु पछाडि पर्ने र नयाँहरुमा परिपक्वता नहुँदा पनि समस्या भएको औंल्याए ।
सहकारी ऐन २०७४ आएको ८ वर्ष नबित्दै यसले अभियानको भावना सम्बोधन गर्न नसकेको कुरा उठ्नुले ऐन ल्याउँदा पर्याप्त छलफल नभएको प्रमाणित गरेको मन्त्री अधिकारीले जनाए । ऐनमा भएका कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण र बचत तथा कर्जा सुरक्षण कोष ल्याउने तयारीमा सरकार लागेको उनले जानकारी दिए । कस्तो खालको संरचना बनाउनुपर्ने हो, अहिले भएकै निकायमा जोडिने वा छुट्टै बनाउने यसमा पनि अभियानको स्पष्ट धारणा आउन आवश्यक रहेको उनले जनाए । अहिले यी संरचना बनाउने विषयमा छलफल चलिरहेकाले भोलिका दिनसम्म समस्या नआउने गरी बनाउन आवश्यक रहेकाले यसमा अभियानको ध्यान जानुपर्नेमा उनले जोड दिए ।
सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बजगाई स्थापनाकालदेखि नै संघले आफ्ना सदस्य संस्थाहरुको विकास र प्रवर्दनमा महत्वपूर्ण भूमिका खेल्दै आफ्नो परिभाषित कार्यमा क्रियशिल रहेको बताए । त्यसैगरी संस्थाहरुको प्रवर्दन तथा सहकारीमैत्री नीति नियम निर्माणको सवालमा पनि सरकारसँग निरन्तर वहस पैरवी गर्दै आएको उनले सभामा जानकारी दिए ।
संघले सदस्य संस्थाहरुलाई लक्षित गरी शिक्षा, गोष्ठी, तालिम, अन्तरलगानी र स्तरीकरण लगायत प्राविधिक सेवाहरु उपलब्ध गराउँदै संस्थाहरुलाई सवल, सक्षम र दिगो बनाउन लागि परेको उनको भनाई छ । कतिपय सहकारी संस्थाको गलत अभ्यास, प्रभावकारी अनुगमन संयन्त्रको कमी र अभियानको तर्फबाट भएको लविङ प्रमभावकारी हुन नसक्दा आमजनमानसमा सहकारी क्षेत्रको छवी गुमाउनु परेको उनले उल्लेख गरे ।
सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न बचत ऋणको कारोबार गर्ने संस्थाको दर्ता रोक्नुपर्ने,संस्थाहरुलाई सेवा केन्द्र विस्तारको नाममा ठुलो कार्यक्षेत्र दिन नहुने र सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुसार सञ्चालन गर्नुपर्ने र एकीकरणलाई प्रोत्साहन दिदै त्यसका लागि बाध्यकारी नीति ल्याउनु पर्नेमा अध्यक्ष बजगाईको जोड छ ।
सहकारी ऐन २०७४ मा व्यवस्था भएको कर्जा सूचना केन्द्र, ऋण असुली न्यायधिकरण,सहकारी प्रवर्दन कोषका साथै बचत तथा कर्जा सुरक्षण कोष सञ्चालनमा आउन नसक्दा पनि समस्या बढेर गएको उनले बताए । चालु आर्थिक बर्ष २०८१÷८२ को लागि नीति तथा कार्यक्तम प्रस्तुत गर्दै उनले केही सहकारी संस्थामा समस्या देखिएकाले समस्या पहिचान तथा समाधानको लागि सहयोगी कक्ष स्थापना गरी समस्या समाधान गर्ने बताए ।
त्यसैगरी यस आर्थिक बर्षमा अन्तरलगानीको कारोबारलाई वृद्धि गरी १ अर्ब १८ पुन्याउने, विभिन्न संघ संस्थाको अवलोकन भ्रमण गरी असल अभ्यास आन्तरिकीकरण गर्ने,संस्था प्रवर्दन तथा विकास गर्ने ,शिक्षा तथा तालिम कार्यक्रमलाई नितरन्तरता दिने, म्यानेजर क्लव गठन गर्ने, लघुकर्जा प्रदान गर्ने र निःशुल्क प्रशिक्षक उपलब्ध गराउने जस्ता योजना रहेको उनको भनाई छ ।
सभामा कोषाध्यक्ष वसन्त मालीले आर्थिक बर्ष २०८०÷८१ को आर्थिक प्रतिवेदन र आर्थिक बर्ष २०८१÷८२ को अनुमानित बजेट सभामा प्रस्तुत गरेको थिए । संघले गत आर्थिक बर्षको असार मसान्तसम्म शेयर पुँजी ७ करोड २६ लाख, जगेडा तथा अन्य कोष १० करोड २४ लाख ९५ हजार, बचत संकलन १ अर्ब ३१ करोड २७ लाख, ऋण लगानी १ अर्ब १ करोड ८० लाख गरी १ अर्ब ४९ करोड ६६ लाख कुल सम्पत्ति पु¥याएको उनले सभामा जानकारी दिए । गत आर्थिक बर्षको नाफाबाट सदस्य संस्थालाई १० प्रतिशत लाभांश दिने प्रस्ताव सभाले पारित गरेको छ ।
त्यसैगरी लेखा सुपरीवेक्षण समितिका संयोजक सानुकाजी महर्जनले समितिको प्रतिवेदन प्रस्तुत गर्दै संघले सदस्य संस्थाहरुको विकास र प्रवद्र्धनका साथै पैरवीमा ध्यान केन्द्रीत गर्न र संघमा आवद्ध संस्थाहरुको गुण, क्षमता, वित्तीय सूचक, स्वःव्यवस्थापन, स्वःअनुशासन जस्ता मानकहरुलाई विकास गरी संस्थाहरुको वर्गिकरण गरेर सेवा दिन सुझाव दिएका छन् ।
सभामा विभिन्न विद्यामा संघ संस्था र व्यक्तिलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । उत्कृष्ट संस्थाको रुपमा हिमनदी बचत तथा ऋण सहकारी संस्था, उत्कृष्ट व्यवसाय पुरस्कारतर्फ गन्तव्य बचत तथा ऋण सहकारी संस्था, संघमा धेरै कारोबार गर्ने संस्थाको रुपमा आयाम बचत तथा ऋण सहकारी संस्था र महिला सहकारी संस्थातर्फ ठेचो महिला बचत तथा ऋण सहकारी संस्थालाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
त्यसैगरी पूर्व सञ्चालक सम्मान कुमार खत्री र उत्कृष्ट कर्मचारी सम्मान संघका व्यवस्थापक सन्तोष बजगाईलाई प्रदान गरिएको थियो । संघले पत्रकारिता पुरस्कारबाट नेपालपत्र न्युज डटकमका सम्पादक माधब खड्कालाई नगद र प्रशंसा पत्रले सम्मान गरेको छ ।
सभामा संघका वरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्यले शुभकाना मन्तव्य राखेका थिए भने सचिव श्याकृष्ण महर्जनले सभाको सञ्चालन गरेका थिए । सभामा राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष रमेश पोखरेल, नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले मन्तब्य राखेका थिए ।
सूचनाहरू 