कार्यालय सम्पर्क नम्बर: ०१–५४५३००१ , ५४५३००७

आइतबार – शुक्रबार

१०:०० देखि ५:००

लगनखेल-५, ललितपुर

post-01

२७औँ वार्षिक साधारण सभा

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २७ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संघका अध्यक्ष रामहरि बजगाईंको सभापतित्व एवं राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको सभाका बिशिष्ट अतिथि नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल रहनुभएको थियो ।
     सभालाई सम्बोधन गर्दै अध्यक्ष उप्रेती प्रारम्भिक संस्था, जिल्ला संघ र केन्द्रीय संघहरुले वाणिज्य बैंकहरुमा पैसा राख्दा सहकारी क्षेत्रमा तरलता समस्या भएको बताउनुभयो । सहकारीको पैसा सहकारी क्षेत्रमा नै भनेपनि पैसा निजी बैंकहरुमा जाँदा अहिलेको अहिलेको अवस्था सिर्जना भएको उहाँको भनाई थियो ।
     सहकारीमा ब्याजदर कम भएका कारण सदस्यको पैसा अन्यत्र नजाओस् भनेर सन्दर्भ ब्याजदर परिमार्जनका लागि आफुहरु लागिपरेको समेत उहाँले बताउनुभयो । पुस १५ गने सन्दर्भ ब्याजदर निर्धारण सम्बन्धी बैठक बस्ने र अभियानको भावनालाई सम्बोधन हुनेगरी ब्याजदर पुनरावलोकन हुने विश्वास उहाँले दिलाउनुभयो । 
     कार्यक्रममा विशिष्ट अतिथि नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारीमा अहिले देखिएको समस्याको निकासका लागि राष्टिय सहकारी महासंघले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले सदस्यको पैसा फिर्ता गर्न सकिएन भने हाम्रो नेतृत्व हामीमै मात्र सीमित हुने भन्दै उहाँले त्यसका लागि अभियानकर्मीहरु सचेत हुनुपर्ने बताउनुभयो । अभियानभित्रका साथीहरुले सिङ्गो अभियानको हितका लागि सोच्नुपर्नेमा नेफ्स्कूनका प्रबक्ता समेत रहनुभएका बरिष्ठ उपाध्यक्ष ढकालले जोड दिनुभयो ।
     कार्यक्रममा केन्द्रिय बहुउद्देश्यीय सहकारी संघका सचिव माधव तिमल्सिनाले संस्थाहरुले सदस्यलाई सेवा र ब्याजदरमा विश्वास दिलाउनुका साथै सदस्य भेटघाट कार्यक्रम गरे हाल देखिएको तरलता समस्या  हल गर्न सकिने धारणा राख्नुभयो । 
कार्यक्रममा ललितपुर जिल्ला सहकारी संघका उपाध्यक्ष रामशरण बस्नेतले बैंकहरुले सीमित समयका लागि १२ प्रतिशतसम्म ब्याज आव्हान गरिराखेको अवस्थामा सहकारीहरुले पनि त्यस्ता प्रडक्ट ल्याउन सके तरलता अभावलाई न्यून गर्न सकिने बताउनुभयो । नेफ्स्कून र सहकारी बैंकले सीमित अवधिका लागि भएपनि विशेष बचत योजना ल्याएर सदस्यहरुको पैसा अभियानभित्र आउने वाताबरण बनाउनु अहिलेको आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो । 
     संघका सल्लाहकार रामशरण घिमिरेले सहकारीभित्र रहेको पैसा यहिँ रहने बातावरण नबन्दासम्म तरलता समस्या झन् जटिल बन्ने बताउनुभयो । व्यापार घाटा चुलिएको, कृषि उपजमा परनिर्भरता बढेको र डिजेलपेट्रोलको आयात बढ्दा मुलुकको पैसा बाहिरिँदा समस्या आएको उहाँको भनाई थियो । 
     सभामा सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बजगाईले स्थपनाकालदेखि नै संघमा आवद्ध सहकारी संस्थाहरुको विकास, प्रवर्धन र संवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै सहकारीमैत्री नीति निर्माणका सवालमा पनि पहलपैरवी गर्दै आएको जानकारी गराउनुभयो । आन्तरिक रुपमा संस्थागत विकास, सुशासन एवं क्षमता अभिवृद्धि गर्दे अझ गुणस्तरीय सेवा प्रदान गर्नु आजको आवश्यकता रहेको र बचत ऋण अभियानलाई व्यवस्थित एवं समयसापेक्ष बनाउन अनुकूल नीतिगत व्यवस्थाका लागि राज्यसँग पहल गर्नु आवश्यक रहेको उहाँको धारणा थियो । सहकारीमार्फत उत्पादन, वितरण र उपभोगलाई जोड दिइ आर्थिक रुपमा सबल मुलुक बनाउन सहकारीहरु लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । संघले आफ्ना सदस्यहरुको सबलीकरण र विस्तारका लागि वर्षभर विभिन्न तालिम तथा गोष्ठी सञ्चालन गर्दै आएको उहाँले दाबी गर्नुभयो । संघमा ५२६ संस्था आवद्ध रहेका छन् । संघको कुल शेयर ६ करोड १९ लाख, बचत १ अर्ब ८० करोड र ऋण लगानी १ अर्ब १७ करोड गरी सदस्यहरुलाई १५ प्रतिशत लाभांश दिने भएको छ । 
     संघले कोरोना महामारीका बेला सदस्य संस्थालाई सघाउन तरलता व्यवस्थापन कोष खडा गरेको र त्यस अवधिमा २३ वटा संस्थलाई सहयोग गरेको जनाएको छ । संघले आफ्नै घरजग्गा खरिद गर्ने, आवद्ध सबै संस्थाहरुमा अन्तरलगानी विस्तार गर्ने, हरेक ३ महिनामा वित्तीय विवरण प्रकाशित गर्ने, अनुगमन तथा एकिकरणलाई प्राथमिकता दिने, संस्था प्रवद्र्धन तथा विकासमा टेवा पुर्याउने भएको छ । त्यसैगरी सदस्यहरुलाई आवश्यकता अनुसार सशुल्क र निःशुल्क तालिम प्रदान गर्ने, महिलाद्वारा सञ्चालित सहकारीलाई बिनाधितो लघुकर्जा प्रदान गर्ने, निष्क्रिय रहेका संस्थाहरुलाई सक्रिय बनाउन पहल गर्ने भएको छ । 
     सभामा कोषाध्यक्ष दिपक घिमिरेले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक अशोक महर्जनले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा महानगरपालिका र नगरपालिका भित्रका उत्कृष्ट सहकारी संस्थाहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुने संस्थामा गोदावरी नपाबाट गणपति साकोस, महालक्ष्मी नपाबाट सहारा साकोस र ललितपुर महानगरपालिकाबाट अनमोल साकोस रहेका छन् । त्यसैगरी उत्कृष्ट सहकारी कारोबार गर्नेमा गौरव साकोस धापाखेल, समता साकोस नःटोल, आदिनाथ साकोस ग्वार्को, श्रीकृष्ण प्रणामी साकोस इमाडोल र अभियान साकोस गोदावरी रहेका छन् । सभामा सहकारी एकिकरणतर्फ मंगलदीप साकोस र हेलो नयन साकोसलाई पनि सम्मान गरिएको थियो । संघका बरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्यले स्वागत मन्तब्य र सचिव श्यामकृष्ण महर्जनले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।