कार्यालय सम्पर्क नम्बर: ०१–५४५३००१ , ५४५३००७

आइतबार – शुक्रबार

१०:०० देखि ५:००

लगनखेल-५, ललितपुर

post-01

तरलता व्यवस्थापनमा सहकारी अभियानको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम

ललितपुर सहकारी अभियानको आयोजनामा तरलता व्यवस्थापनमा सहकारी अभियानको भूमिका विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । छलफलमा सहकारीको नियामक निकाय संघीय सहकारी विभागका साथै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ, राष्ट्रिय सहकारी बैंक लगायत निकायका उच्च अधिकारीहरुको उपस्थिती रहने आयोजकले जनाएको छ ।
सहकारीमा तरलता संकट गहिरिन नदिन अभियानबीच सहकार्य र एकता तथा नियामक निकायको सहयोगी भूमिकाको अपेक्षा गरिएको हो । उहाँहरुले त्यसका लागि सहकारीको पैसा सहकारीमै र प्रतिस्पर्धात्मक रुपमा बजार बिश्लेषणको बलमा सन्दर्भ ब्याजरदर निर्धारण गरिनुपर्ने माग गर्नुभयो । स्थिरीकरण कोष, केन्द्रीय तरलता कोष, ऐक्यबद्धता कोष, बचत सुरक्षण कोष जस्ता विषयमा पनि अभियानको अपनत्व भएमा भविष्यमा तरलता समस्या देखा नपर्ने भन्दै बक्ताहरुले ती विषयमा सहभागीहरुको ध्यानकर्षण गराउनुभएको थियो ।
तरलता व्यवस्थापनका लागि सहकारी अभियानबीच संकट व्यवस्थापन र रणनीतिक व्यवस्थापनका मुख्य विषयमा ऐक्यबद्ध प्रयास आवश्यक भएको धारणा सहकारी अभियन्ताहरुको रहेको छ । तात्कालिक संकट व्यवस्थापनका लागि सहकारीको पैसा सहकारीमै राख्नेदेखि तरलता संकट देखिएका सहकारीहरुलाई केन्द्रीय निकायहरुको सहयोगको ढाडसदेखि दिर्घकालीन रणनीतिक व्यवस्थापनको  लागि बजार बिश्लेषणको आधारमा सन्दर्भ ब्याजदर तोकिनुपर्ने आवाज सहकारी अभियन्ताहरुले उठाउनुभएको छ । कार्यक्रममा सहभागी नियामक निकाय सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले बजार बिश्लेषण गरी अब छिट्टै सन्दर्भ ब्याजदर पुनरावलोकन गरिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । सहकारीमा हाल १४.७५ प्रतिशतको सन्दर्भ ब्याजदर लागू भएको अवस्था छ । वित्तीय तरलता अभावको अवस्था सहकारी क्षेत्रमा पनि पर्न सुरु भएसँगै समयसापेक्ष ब्याजदर पुनरावलोकनको माग उठेको हो ।
कार्यक्रमका प्रमुख अतिथि सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले सन्दर्भ ब्याजदरको विषय एक सातापछि छलफल गरि निर्णयमा पुगिने जानकारी गराउनुभयो । बजारको आधारमा ब्याजदर निर्धारण गरिनुपर्ने विषयमा विभाग सकारात्मक रहेको उहाँको भनाई थियो । लतिलपुर जिल्ला बचत संघले केही समयअघि गरेको चौथो ललितपुर साकोस समिटका क्रममा पनि रजिष्ट्रार अधिकारीले सन्दर्भ ब्याजदर बजार बिश्लेषणको आधारमा गरिने र त्यसलाई बैज्ञानिक बनाइने बताउनुभएको थियो । वाणिज्य बैंकहरुले तीन तीन महिनामा ब्याजदर परिवर्तन गर्छन् हामीले किन गर्न नहुने ?’ अधिकारीले भन्नुभयो , ‘यो कुरामा म सहमत छु, अवस्था र आवश्यकता हेरेर कम्तिमा वर्षमा दुई पटक सन्दर्भ ब्याजदर हेरफेर गरौं ।’
उच्च व्यापारघाटा, घट्दो रेमिट्यान्सलगायतका कारण चालु आर्थिक वर्ष २०७८ /०७९ सुरु भएलगतै बजारमा तरलता अभाव भइरहेको छ । बैंक तथा वित्तीय संस्था हुँदै तरलताको अभावले सहकारी संघसंस्थाहरुलाई पनि समस्या पर्न थालेको छ ।
तरलता अभाव बढेसँगै सहकारीहरुले अत्यावश्यक अवस्थामा बाहेक कर्जा लगानी रोकेका छन् । सहकारी अभियानको छाता निकाय राष्ट्रिय सहकारी महासंघले मंसिर अन्तिम साता सहकारी संस्थाहरुलाई अनिवार्य रुपमा १५ प्रतिशत तरलता राख्न र तरलता व्यवस्थापनका लागि योजना बनाउन आग्रह गरिसकेको छ ।
बैंकहरुमा तरलता अभाव कम गर्नका लागि नेपाल राष्ट्र बैंकले रिपो, एसएलएफलगायका मौद्रिक उपकरणबाट बजारमा रकम पठाउँदै आएको छ । तर, सहकारी संघसंस्थाहरू राष्ट्र बैंकको प्रत्यक्ष नियमनका नभएकाले यो सुविधा पाउँदैनन् । देशभर दर्ता भएको ३० हजार सहकारीहरुले सर्वसाधारणको १० खर्व निक्षेप परिचालन गरिरहेका छन् ।
अहिले सोचिएको जस्तो तरलता संकट अत्यन्तै भयावह नभएको र यो अल्पकालीन समस्या मात्र भएको उहाँले दाबी गर्नुभयो । ग्राहक तथा सदस्यहरुको बिश्वास जित्ने बातावरण नबनेका कारण बैंक वित्तीय संस्था तथा सहकारीहरुमा बचत निक्षेप जम्मा हुन नसकेको विचार रजिष्ट्रारको थियो ।
कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले तरलता व्यवस्थापको बिषय क्राइसिस म्यानेजमेन्ट र रणनीतिक म्यानेजमेन्टसँग जोडिएको भन्दै तात्कालिक आवश्यकता संकट व्यवस्थापन भएपनि भोलिका दिनमा यस प्रकारको अवस्था नआउन दीर्घकालिन र दिगो रणनीतिक व्यवस्थापनतर्फ पनि बेलैमा सहकारी अभियानको एकताबद्ध प्रयास आवश्यक पर्नेमा बिशेष जोड दिनुभयो । उहाँको बजारको बिश्लेषण गरेर सन्दर्भ ब्याजदर पुनरावलोकन गरिनुपर्ने विषय उठाउनुभएको थियो  र यो विषयमा एकसाता भित्रै छलफल गरि टुङ्गोमा पुग्ने विषय रजिष्ट्रारसँग भएको जानकारी गराउनुभयो । तरलता चाप न्यूनीकरण गर्न सदस्य संस्थाहरुको ऐक्यबद्धता र अभियानको प्रतिबद्धता आवश्यक भएको उहाँले बताउनुभयो । ‘हामी सम्पूर्ण पैसा अभियानमा राख्छौं भन्ने प्रतिबद्धता सबै सदस्य सहकारी संघ संस्थाबाट आउनुपर्छ,’ कार्यक्रममा बिशिष्ट अतिथि नेफ्स्कून अध्यक्ष पौड्यालले बताउनुभयो । त्यसो भएमा समस्यामा परेको संस्थाको जिम्मा अभियानले लिने पनि उहाँले प्रस्ट पार्नुभयो ।
अन्य वित्तीय संस्थामा भएको रकमलाई तुरुन्तै सहकारीमा सार्न आग्रह गर्दै त्यसका लागि संकल्प गर्न पनि उहाँलेसबैको ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष पौड्यालले भन्नुभयो, ‘महासंघ, नेफ्स्कून, बैंकसँगै समग्र सहकारी अभियानबीच यसप्रकारको सोलिड्यारिटी र कमिटमेन्ट आवश्यक छ ।’
सोलिड्यारिटी फन्ड, केन्द्रीय तरलता कोष, बचत सुरक्षण कोष र स्थिरीकरण कोष जस्ता हिजो गर्नुपर्ने कामहरु नगरेकै कारण अहिले तरलता चाप बढ्दै गएको भन्दै यसतर्फ पनि अभियान र नियामक निकायको ध्यानाकर्षण उहाँले गराउनुभयो ।
राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष केबी उप्रेतीले सहकारीको पैसा सहकारीमै राख्ने विषयलाई प्राथमिकताका साथ उठाउनुभएको थियो । लतिलपुर जिल्ला सहकारी संघका अध्यक्ष माधव दुलालले तरलता समस्या समयमै समाधान गर्न नसके ठूलो दुर्घटनामा सहकारी पर्ने बताउनुभयो । तत्काल सहकारीको सन्दर्भ ब्याजदर परिमार्जन गर्नुपर्ने उहाँको भनाई थियो । बैंकहरूले १५ प्रतिशत ब्याज दिन थालेको र सहकारीहरु समस्यामा परेको तर्क उहाँले गर्नुभयो । ललितपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष शरदकुमार महर्जनले सहकारीमा परेको तरलता समस्या समाधान गर्न महासंघले न्यायोचित भूमिका खेल्नुपर्ने बताउनुभयो । कार्यक्रम सञ्चालक ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरि बजगाईले सहकारीको पैसा सहकारीमै बचत गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले सहकारीहरुमा तरलताको समस्या गम्भीर भैनसकेपनि आवश्यक सतकर्ता अपनाउनुपर्नेमा जोड दिनुभयो । सदस्यको बचत फिर्ता पहिलो दायित्व भएको र ऋण लगानी सुविधामात्र भएकाले बचत फिर्ताप्रति बढी जवाफदेहीता हुने बेला भएको तर्क प्रस्तुत गर्नुभयो । 
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लि.का प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाइले आयोजकहरुको तर्फबाट तरलता व्यवस्थापनमा सहकारी अभियानको भूमिका विषयक प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले न्यून पुँजीगत खर्च, विप्रेषण आप्रवाहमा कमी, नीतिगत परिवर्तन, केही सहकारीमा देखिएको सुशासनका समस्या, सदस्यहरुसँग नियमित सम्पर्क र सम्वादको अभाव, प्रविधि प्रयोगमा कानूनी तथा व्यावहारिक असहजता, नियमनको अभाव, ऋण लगानीमा असावधानी, भाखा नाघेको ऋण असुलीमा तदारुकता अभाव आदि कारणले तरलता संकट देखिएको प्रस्तुतिकरणमा उल्लेख गर्दै अभियानको ऐक्यबद्ध प्रयासमा समस्या समाधान गर्न सकिने तर्क प्रस्तुत गर्नुभयो । उहाँले १५ देखि २० प्रतिशत तरलता व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, प्रशासन तथा सामान्य सञ्चालन विभाग प्रमुख सञ्जयराज तिमल्सिनाको पनि सहभागिता थियो । कार्यक्रममा विभागका रजिष्ट्रार अधिकारी, नेफस्कूनका अध्यक्ष पौड्याल र सहकारी बैंकका अध्यक्ष उप्रेतीले सहभागीहरुको जिज्ञासाको सम्बोधन गर्नुभएको थियो । सहभागीहरुले कुनै पनि सहकारीमा तरलता संकट आए ‘अभियान छ है’ भन्नेमा आश्वस्त तुल्याउनसक्नुपर्ने आवाज उठाएका थिए । 
बागमती प्रदेश सहकारी संघ, जिल्ला सहकारी संघ लि.ललितपुर, ललितपुर जिल्ला बचत संघ, बहुउद्देश्यीय सहकारी संघ ललितपुर, नेफ्स्कून ललितपुर फिल्ड कार्यालयसँगै राष्ट्रिय सहकारीबैंकका ललितपुरस्थित ४ शाखाका संयुक्त आयोजनामा गरिएको कार्यक्रममा बैंक तथा वित्तीय संस्थाले आक्रामक रुपमा ऋण लगानी विस्तार गर्दा पहिलो त्रैमास नसकिँदै वित्तीय बजारमा देखिएको तरलताको चाप सहकारीमा समेत पर्न सक्ने आँकलन गर्दै समस्या आए कसरी समाधान गर्ने भन्ने विपयमा आज अभियानकर्मी तथा नियामक निकायको उपस्थितिमा अन्तरक्रिया गरिएको हो । कार्यक्रमको अध्यक्षता बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले गर्नुभएको थियो ।