कार्यालय सम्पर्क नम्बर: ०१–५४५३००१ , ५४५३००७

आइतबार – शुक्रबार

१०:०० देखि ५:००

लगनखेल-५, ललितपुर

post-01

साकोस कोषाध्यक्ष गोष्ठी २०८१ सम्पन्न

ललितपुर जिल्ला बचत संघको आयोजनामा धुलिखेलमा रहेको मिरावेल रिर्सोट एण्ड होटलमा जेष्ठ १८ र १९ गते साकोस कोषाध्यक्ष गोष्ठी २०८१ सम्पन्न भयो । दुई दिनसम्म सञ्चालन भएको उक्त गोष्ठीमा ललितपुर जिल्लामा सञ्चालित ८० जनाभन्दा बढी सहकारी संस्थाका कोषाध्यक्षहरुको सहभागिता रहेको थियो ।
उद्घाटन सत्रमा वचत संघका अध्यक्ष रामहरि बजगाईको सभापतित्व एवम् वागमति प्रदेश सरकार, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका माननीय मन्त्री शैलेन्द्रमान बज्राचार्यको प्रमुख आतिथ्यतामा सुरुवात भएको थियो । उद्घाटन सत्रमा राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष ओमदेवी मल्ल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेती, मकवानपुर वचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष कल्पाना श्रेष्ठ, काभ्रे वचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष उदयराम कायस्थ, शंखधर स्वाख्या प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ, काभ्रे पत्रकार महासंघका सल्लाहकार नवराज बजगाईको उपस्थिति रहेको थियो । उक्त गोष्ठीको सञ्चालन वचत संघका सचिव श्यामकृष्ण महर्जनले गर्नुभएको थियो भने संघका बरिष्ठ उपाध्यक्ष करुणारत्न बज्रचार्यले स्वागत मन्तव्य राख्दै सहकारी संस्थाको संस्थागत विकासका लागि कोषाध्यक्षको महत्वपूर्ण भूमिका तथा जिम्मेवारी बोध गराउन गोष्ठी सहयोगी हुने अपेक्षा गरे ।
संघका अध्यक्ष रामहरी बजगाईले अध्यक्षहरुलाई संस्थाप्रति थप जिम्मेवार बनाउने उद्देश्यले गोष्ठीको आयोजना गरिएको बताए । वित्र् सहकारी ऐन आवश्यक भएको बताए । सबै सहकारी संस्थाले बचत तथा ऋणको कारोबार गरेकाले सहकारीमा समस्या आएको उनको भनाई छ । अब बचत ऋण सहकारी र अन्य सहकारीबीच कित्ताकाट गर्ने समय आएको उनले जनाए । संस्थामा कोषाध्यक्षको भूमिका महत्वपूर्ण भएको भन्दै थापाले ऐनले नै कोषको जिम्मा दिएको जानकारी दिए ।
दुई दिनसम्म सञ्चालन भएको गोष्ठीमा पहिलो दिन पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, प्रेरकवक्ता डा. रविन कटवाल, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै, दोश्रो दिन संघीय सहकारी विभाग उप– रजिष्ट्रार टोलराज उपाध्याय, सि.ए. शेषमणी दाहाल तथा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले प्रशिक्षण दिनुभएको थियो भने कार्यपत्रमा टिप्पणीकर्ताको रुपमा काठमाडौं जिल्ला वचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष दिपक पनेरु, पूर्व रजिष्ट्रार नारायण ज्ञवाली र मकवानपुर जिल्ला वचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष कल्पना श्रेष्ठ रहनुभएको थियो । समापन सत्रमा नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. का कोषाध्यक्ष दिपक थापा, वागमती प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटा,  ललितपुर महानगरपालिका उद्योग तथा सहकारी शाखाका वरिष्ठ अधिकृत चन्द्रलाल डंगोल, कार्यक्रमका सहजकर्ता तेजप्रसाद बजगाई, नेपाल सहकारी पत्रकार समाजका पूर्व अध्यक्ष खिला दाहाल, नेपाल पत्रका प्रधान सम्पादक माधव खड्का लगायत महानुभावहरुको उपस्थिति थियो । उक्त गोष्ठीले ९ बुँदे साझा प्रतिबद्धता जारी गरी समापन भएको थियो ।
नौ बुँदे साझा प्रतिबद्धता
१. सहकारी संस्थामा आउन सक्ने जोखिम न्युनिकरणका लागि संस्थागत सुशासन मार्फत आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी बनाउने ।  
२. सहकारी संस्थामा कोषाध्यक्षको भूमिका प्रभावकारी बनाउनको लागि नियमित रुपमा ज्ञान, सीप र क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने र संघले आयोजना गरेका कार्यक्रममा सक्रिय 
    सहभागिता जनाउने । 
३. संस्थामा सदस्यहरुको सक्रिय सहभागिता, नियमित कारोवार र विश्वास अभिबृद्धि गर्नको लागि कारोवारको सुरक्षण र सेवाको गुणस्तर प्रभावकारी बनाउने । 
४. लेखापरीक्षण कार्यलाई पारदर्शी र जोखिम रहित ढङ्गबाट सम्पन्न गर्नको लागि संस्थाको आन्तरिक र बाह्य लेखापरीक्षण प्रभावकारी बनाउने ।
५. बचत तथा ऋण सहकारी संस्थाको वित्तीय अनुपातहरुको विश्लेषण गर्नको लागि उपयुक्त विधिको रुपमा स्वीकार गरी अभ्यास गरिएको विश्वासयोग्य अनुगमन प्रणालीको रुपमा स्थापित पल्र्स 
    अनुगमन प्रणालीलाई पूर्ण रुपमा लागु गर्ने ।  
६. सहकारी ऐन, नियम र सम्बद्ध कानुनले तोकेको भूमिका निर्वाह गर्न कोषाध्यक्षको सक्षमता विकास गर्ने र कानुनको परिपालनामा जोड दिने । 
७. सुरक्षित प्रविधिको प्रयोग गर्दै सदस्य मैत्री सेवाको लागि सहकारी एकीकरण, मितव्ययिता र लागत रहित कोष वृद्धि गर्ने ।
८. संस्थाले सञ्चालन गरेका कृयाकलाप र वित्तीय विवरण ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघमा नियमित रुपमा विद्युतीय वा अन्य उपयुक्त माध्यमबाट पेश गर्ने । 
९. ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मार्फत संघ, प्रदेश र स्थानीय तहसंग सहकार्य गरी सहकारीमा देखिएका समस्या न्युनिकरण, नीतिगत स्पष्टता र संस्थाको प्रर्वधन र 
    विकास हुने कार्यक्रमहरु सञ्चालन गर्ने ।