ललितपुर जिल्ला वचत संघ ३१औं वर्षमा
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ ३१ वर्षमा प्रवेश गरेको छ । २०५० साल असोज ३ गते स्थापना भएको संघ सहकारीमा मूलुककै पहिलो संघका रुपमा हेरिएको छ । असोज ३ गते संघले सरोकारवालाहरुसंग सहकारी बहस कार्यक्रम गरी स्थापना दिवस मनाएको छ ।
जिल्लाको सहकारी अभियानको प्रवद्र्धन विकासका साथै सुशासनमा समृद्ध साकोस, दिगो संघको मूल ध्येय लिएर अघि बढीरहेको संघका अध्यक्ष रामहरी बजगाईले बताए । उनले वर्तमान अवस्थामा सहकारीमा केही जटिल विषयहरु आइरहेकोले सरोकारवालाहरुले चासोका साथ सम्बोधन गर्नुपर्ने बताए ।
उनले भने, ‘सहकारीकर्मीलाई अहिले ठग, फटाहको संज्ञा पाइएको छ, यस्तो अवस्था सिर्जना भएकोले अभियान र सरोकारवालाहरुले संयुक्त रुपमा यस्ता विषयलाई निराकरण गर्नुपर्छ ।’ उनले सहकारीका कार्यक्रम भाषण मुक्त र उपलब्धीमूलक बनाउनुपर्नेमा जोड दिए ।
संघको स्थापना दिवसमा वर्तमान अवस्थामा सहकारीका समस्या समधानका लागि राज्य र अभियानले गर्न सकिने विषयमा सुझाव आउने अपेक्षा सहित सहकारी बहस कार्यक्रम गरिएको अध्यक्ष बजगाईले बताए । उनले संघले जिल्लाको सहकारी अभियानलाई सबल र गतिशील बनाउन विभिन्न शूल्क तथा निःशूल्क तालिम तथा गोष्ठी गर्दै आएको जानकारी दिए ।
त्यसैगरी संघको आफ्नै भवन निर्माणका लागि जग्गा खरिद गरी प्रक्रिया अगाडि बढाएको बताए । संघले २४ वटा कार्यविधि निर्माण गरी कार्यविधिका आधारमा संघ सञ्चालन गर्दै आएको जनाए । त्यसैगरी संघमा आवद्ध संस्था मध्ये ४२ वटा संस्था समस्या उन्मूख रहेको र समस्या समाधान गर्न संघले सहजीकरण गर्दै आएको जानकारी दिएका छन् ।
संघमा आवद्ध रहेका ५२१ संस्था मध्ये निष्कृय संस्थाको संख्या ४० रहेको र ती संस्थाको सदस्यता खारेज गरिएको जानकारी दिए । भदौ मसान्सम्म संघको शेयर पूँजी ७ करोड २८ लाख ६६ हजार निक्षेप १ अर्ब ३५ करोड २३ लाख १४ हजार रहेको जनाए ।
त्यसैगरी संघले सदस्य संघ संस्थालाई १ अर्ब ४ करोड ९१ लाख ३० हजार कर्जा लगानीमा रहेको तथा संघको विभिन्न कोषमा १३ करोड ५३ लाख ९७ हजार रुपैंयाँ साथै ३९ प्रतिशत तरलता रहेको जानकारी दिए । उनले विभिन्न स्थानीय तहसँग सहकार्य गरेर सहकारी अभियानलाई सबल बनाउन लागिरहेको बताए ।
बहस कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे, उप–रजिष्ट्रार टोलराज उपाध्याय, बागमती प्रदेश सहकारी रजिष्ट्रार राजन पोखरेल, राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकाल वक्ताको रुपमा रहेका थिए ।
बहस कार्यक्रममा रजिष्ट्रार घिमिरेले सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै समुदाय र सदस्य केन्द्रीत भएर संस्था सञ्चालन गरे समस्या नआउने बताए । नियम कानुन र सिद्धान्त विपरित संस्था सञ्चालन गरी सदस्यको बचत दुरुपयोग गर भनेर सरकारले संस्था दर्ता नगरेको उनको भनाइ थियो ।
सहकारी ऐन नियममा भएको व्यवस्था अनुसार नै संस्थाहरुको कार्यक्षेत्र विस्तार र सेवा केन्द्र स्वीकृत दिएको भन्दै घिमिरेले त्यसको आवश्यकता र औचित्यका विषयमा अध्ययन नहुनु भने कमजोरी भएको स्वीकार गरे । बागमती प्रदेश सहकारी रजिष्ट्रार राजन पोखरेलले बागमती प्रदेशमा रहेको सहकारी संस्थाको नियमन तथा प्रवद्र्धनमा आफुहरु लागिरहेको बताए ।
सहकारी संस्थाले दिएको प्रतिवेदन र अन्य कागजातलाई अभिलेख राख्नेका साथै सदस्यको बचत फिर्ता गर्न नसकेका सहकारी संस्थाका सञ्चालक र सदस्यहरुबीच छलफल गरेर समस्या समाधानको लागि निरन्तर कार्य गर्दै आएको उनले जानकारी दिए ।
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले अन्य ४६ वटा कानुनले सहकारी संस्थाहरुलाई उत्पादन र बजारीकरणमा जान रोक लगाएर बचत तथा ऋण कारोबारमा सीमित हुन परेको बताइन् । छिटोछिटो सरकार र कर्मचारी परिर्वतन भईरहँदा सहकारीको समस्या समाधान गर्न र ऐन कार्यान्वयन गर्न समस्या भएको उनको भनाई छ ।
नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले पोलिसी बनाउने र लागू गर्ने काम सरकारको भएको बताए । सहकारी ऐनमा व्यवस्था भएका कतिपय कुरा कार्यान्वयनमा आउन ढिलाई हुँदा पनि सहकारीमा समस्या बढेको उनले बताए । ऐनका व्यवस्थाहरु तत्काल लागू हुनेमा आफू आशावादी रहेको भन्दै ढकालले सहकारी अभियानको समस्या समाधान हुने जनाए ।
सूचनाहरू 