बचत संघको दोश्रो त्रैमासिक विवरण प्रकाशित
ललितपुर बचत तथा ऋण सहकारी संघले चालु आर्थिक वर्ष दोश्रो त्रैमासिक वित्तीय बिवरण सार्वजनिक गरेको छ । संघले यस आर्थिक वर्षदेखि हरेक ३ महिनामा वित्तीय विवरण सार्वजनिक गर्न शुरु गरेको हो । बैंक तथा वित्तीय संस्थाले हरेक त्रैमासमा यस्तो विवरण प्रकाशित गर्दै आएको भएपनि सहकारी क्षेत्रमा भने यो पहिलो अभ्यास हो । यस अघि राष्ट्रिय सहकारी बैंकले मात्रै यस्तो विवरण प्रकाशित गर्दै आएको छ ।
बचत संघका अध्यक्ष रामहरि बजगाईंले यस आर्थिक वर्षदेखि हरेक त्रैमासको अन्त्यमा अपरिष्किृत वित्तीय विवरण सार्वजनिक गर्दै जाने घोषणा गरेका थिए । सहकारीका संघसंस्थाले पनि नियमित रुपमा वित्तीय विवरण प्रकाशित गर्दा पारदर्शिता आउनुका साथै संस्थागत सुशासन कायम हुने हुँदा सदस्यहरुको विश्वास बढ्दै जाने उनको भनाई छ ।
संघले प्रकाशित गरेको वित्तीय विवरण अनुसार २०७८ पौष मसान्तसम्म संघको सेयर पुँजी ७ करोड ८ लाख ५४ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी संघले सो अवधिमा १ अर्ब ४७ करोड ६ लाख ६५ हजार रुपैयाँ बचत संकलन गरी १ अर्ब ३३ करोड १९ लाख ६१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
आश्विनसम्म संघले १ अर्ब ७१ करोड ७१ लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २९ करोड ८१ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । आश्विन मसान्तसम्म १ करोड ५१ लाख ४५ हजार रुपैयाँ नाफा गरेकोमा संघको नाफा तीन महिनामा बढेर ३ करोड २६ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।
सूचनाहरू 