६५ औँ राष्ट्रिय सहकारी दिवस २०७८
६५ औँ राष्ट्रिय सहकारी दिवस २०७८ को पावन अवसरमा ६५ औँ राष्ट्रिय सहकारी दिवस २०७८, जिल्ला मूल समारोह समिति ललितपुरको सचिवालयको आयोजनामा लतिलपुर जिल्लामा चैत्र १९, २० र २१ गते गरी ३ दिन विभिन्न कार्यक्रम सहित भव्यताका साथ सहकारी दिवस मनाएको छ । उक्त अवसरको पहिलो दिन लगनखेल बसपार्कमा वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ९० जनाले रक्तदान गरेका छन् । कार्यक्रममा जिल्ला मूल समारोह समिति ललितपुरका सदस्यहरु लगायत विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरु तथा वडा नं. ५ का वडा अध्यक्षको उपस्थितिमा रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
त्यस्तै दोश्रो दिन नेपालको सहकारी अभियान शुभारम्भ भएको ऐतिहासिक दिनको रुपमा वि. सं. २०१३ साल चैत्र २० गतेलाई स्मरण गर्दै सदा भैंm यस वर्ष पनि “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” भन्ने मूल नाराका साथ सहकारी प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । उक्त प्रभातफेरी कार्यक्रम विहान ७ बजे लगनखेल चौतारामा विभिन्न संघ÷संस्थाबाट समिति, उपसमिति, कर्मचारी तथा सदस्यहरु संस्थाको ब्यानर, प्लेकार्ड सहित भेला भई कुमारीपाटी, जावलाखेल, पुल्चोक, गाःबहाल हुँदै मंगलबजारमा गई सभामा परिणत भएको थियो । उक्त प्रभातफेरी कार्यक्रममा २०० भन्दा बढी संस्थाहरुको सक्रिय सहभागिता रहेको थियो ।
तेश्रो दिन डिलाईट पार्टी भेन्यू, महालक्ष्मीस्थानमा ललितपुर महानगरपालिको आयोजना तथा ललितपुर जिल्ला मूल समारोह समितिको संयोजनमा एक दिवसीय कार्यशाला गोष्ठी तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चिरीवाबु महर्जनले ललितपुर महानगरपालिकाले सहकारी क्षेत्रलाई अझ स्तोरन्नती गर्न आवश्यक राय, सुझावहरु दिन सम्पूर्ण विषयगत संघ÷संस्थाहरुलाई आग्रह गर्नुभएको थियो साथै उद्योग तथा सहकारी शाखालाई छिटो भन्दा छिटो महाशाखाको रुपमा स्थापित गर्ने घोषणा गर्नुभएको थियो ।
सोही कार्यक्रममा ललितपुर महानगरपालिकाले महानगरपालिका भित्र सञ्चालित पाँच वटा विभिन्न प्रकृतिका सहकारी संस्थाहरुलाई कदर पत्र सहित सम्मान गरेको छ । सम्मानित हुने संस्थाहरुमा श्री जावलाखेल बहुमुखी सहकारी संस्था लि., श्री महिला सिप परिचालन सहकारी संस्था लि., श्री रत्नाकर बचत तथा ऋण सहकारी संस्था लि., श्री सहकारी समाज बुङ्गमती संस्था लि. तथा महावुद्ध ओकुबहाल पेशागत मुर्तिकला कालिगढ सहकारी संस्था लि. रहेका छन् । सोही अवसरमा राष्ट्रिय सहकारी महासंघ नेपालका संस्थापक अध्यक्ष दिपकप्रकाश बाँस्कोटालाई नेपालको सहकारी क्षेत्रको प्रवद्र्धन, विकास र विस्तारमा विगत लामो समयदेखि अनवरत रुपमा भूमिका निर्वाह गरी सहकारी क्षेत्रलाई गुणस्तरयुक्त, व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन गरेको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै हार्दिक बधाईका साथ सम्मान–पत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा विशेष अतिथि तथा कार्यपत्र सहजकर्ताको रुपमा ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले थिमको विषयमा कार्यपत्र प्रस्तुत गर्दै सहकारी अभियान्ताको आचरण, व्यवहार र अनुशासित आवद्धतालाई मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले डिजिटल को–अपरेटिभ गर्भनेन्स र डिजिटल साक्षरतालाई फोकस गर्नुपर्नेमा समेत जोड दिनुभएको थियो ।
त्यस्तै राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले थिमको विषयमा कार्यपत्र सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा प्रेरकवक्ता रविन कट्टवालले सकारात्मक सोच सहितको सहकारी नेतृत्व विषयको कार्यपत्रमा सहजीकरण गरेका थिए ।
विशेष अतिथि प्रशासकीय अधिकृत श्री गणेश अर्याल, सहजकर्ता राष्ट्रिय सहकारी बैंक लि.का प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई तथा रविन कट्टवाल, अतिथिहरु, विभिन्न संस्थाका प्रतिनिधिहरु, पत्रकारहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने थिमलाई कसरी सार्थक बनाउन सकिन्छ भन्ने विषयमा सहकारी अभियान्ता र सरोकारवाल निकायले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड ललितपुरका अध्यक्ष केदार गोर्खालीको सभापतित्वमा एवं ललितपुर महानगरपालिकाका प्रमुख श्री चिरीवावु महर्जन प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन वचत संघका अध्यक्ष रामहरि बजगाईले गरेका थिए ।
सूचनाहरू 